काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको शपथ ग्रहण समारोहमा राष्ट्रहितलाई सर्वोपरि राख्दै अघि बढ्नुपर्ने बताएका छन्। उनले पार्टीको राजनीतिक यात्रामा ‘पहिले देश’ भन्ने मान्यतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका हुन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सम्बोधन गर्दै शर्माले आधुनिक, परिवर्तनशील र सशक्त कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको लक्ष्य हासिल गर्न सबैको साझा भूमिका रहने बताए।
नयाँ नेतृत्व चयनसँगै पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनले केन्द्रीय कार्यसमितिमा विभिन्न पेसा, व्यवसाय, युवा तथा द्वन्द्वपीडित समुदायको प्रतिनिधित्व हुनु सकारात्मक पक्ष भएको धारणा राखे। उनका अनुसार विविध क्षेत्रको सहभागिताले पार्टीलाई थप सक्रिय र जीवन्त बनाउन सहयोग पुग्नेछ।
शर्माले पार्टीको ऐतिहासिक विरासतलाई सम्मान गर्दै भविष्यका चुनौती सामना गर्नुपर्ने बताए। विगतको उपलब्धिमा मात्र सीमित नभई आगामी पुस्ताका लागि उज्ज्वल राजनीतिक भविष्य निर्माण गर्न नेतृत्व जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
उनले नेतृत्वमा निर्वाचित हुनु मात्रै सफलता नभएको उल्लेख गर्दै केन्द्रीय कार्यसमितिमा रहेका र बाहिर रहेका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभित्र कसैले आफूलाई मात्र योग्य र सक्षम ठान्न नहुने बताउँदै उनले महाधिवेशनमा सहभागी सबैको योगदानलाई समान महत्त्व दिनुपर्ने धारणा राखे।
पार्टीको आगामी कार्यदिशा संस्थागत निर्णय र जिम्मेवारीमा आधारित हुनुपर्ने बताउँदै शर्माले नेतृत्वले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीका गतिविधि र कामको प्रगति सम्बन्धित निकायमा नियमित रूपमा प्रस्तुत गर्नुपर्ने पनि उनले बताए।
नेतृत्वमाथि उठ्ने प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ थियो। स्वस्थ तथा विधिसम्मत प्रक्रियाबाट गलत विषयको खण्डन गर्दै आलोचनाबाट सिकेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे।
शर्माले कांग्रेसले मुलुकको समग्र सामाजिक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै पार्टीको स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढेमात्र पार्टीको उद्देश्य र समुन्नत नेपालको लक्ष्य प्राप्त गर्न सकिने उनको धारणा थियो।
