जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक संवाद सुरु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको प्रदेश सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरण निर्माणको प्रयास अघि बढेको हो ।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवले तीन दलका नेताहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको जानकारी दिए । तर, सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा अहिलेसम्म सहमति जुट्न नसकेको उनले बताए ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमतका नेताहरूसँग सरकार गठनबारे संवाद भइरहेको बताएका छन् । चाडपर्व सकिएपछि छलफललाई टुंगोमा पुर्याउने तयारी रहेको उनको भनाइ छ ।
नयाँ गठबन्धनमा सहभागी हुन खोजिरहेका तीनवटै दलले मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको जसपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ ।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीन दलका अध्यक्षबीच प्रदेश सरकारको नेतृत्वबारे केन्द्रस्तरबाटै सहमति खोज्ने समझदारी भएको छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
