काठमाडौं । बाढीपहिरोका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको जनाएको छ ।
नेपाली सेनाका अनुसार २०८३ भदौ १६ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धार, घाइतेको उद्धार, शव व्यवस्थापन, सडक खुलाउने तथा आपत्कालीन उपचारको काम पनि जारी छ ।
विशेषगरी जलविद्युत् आयोजनाका टनेलमा फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ ।
चिलिमे हाइड्रोपावरको टनेलमा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली प्रवेश गरी करिब ५० मिटरसम्म पुगेर खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोको टनेलमा टोली करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटेको छ ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा पनि संयुक्त उद्धार टोली करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ ।
यसैगरी, त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला परेको नेपाली सेनाले जनाएको छ । टनेलभित्र हावा पठाउन कम्प्रेसर प्रयोग गरिएको छ भने भित्र जमेको पानी निकाल्ने काम भइरहेको छ । तीनवटा एक्स्काभेटर प्रयोग गरी टनेलको पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ । टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकर प्रयोग गरी ढुंगा फुटाउने कामसमेत भइरहेको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि विज्ञसहितको फौज परिचालन गरिएको छ । उद्धार टोलीले टनेलमा प्रवेश गर्ने सम्भावित प्रवेशद्वार पहिचान गरी भित्र एक्स्काभेटर प्रयोग गरेर खन्ने काम गरिरहेको छ ।
यसअघि बाढीपछि तत्काल गरिएको उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये रसुवागढीबाट २, अपर त्रिशूली–१ बाट ३३, अपर त्रिशूली–३ ‘ए’ बाट २२१, अपर त्रिशूली–३ ‘बी’ बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना रहेका छन् ।
उता, प्रभावित क्षेत्रमा नेपाली सेनाको ठूलो जनशक्ति परिचालन गरी जमिनी खोज तथा उद्धारलाई समेत निरन्तरता दिइएको छ । प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, सुरक्षा प्रत्याभूति दिलाउने र थप उद्धार आवश्यक पर्ने स्थान पहिचान गर्ने काम भइरहेको छ ।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा संक्रमणको जोखिम कम गर्न सेनाले निसंक्रमण (डिसइन्फेक्सन) को कामसमेत अघि बढाएको छ । धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल नगरपालिका–४ तथा मुलपानी सामुदायिक वन क्षेत्रमा डिसइन्फेक्सन गरिएको सेनाले जनाएको छ ।
अन्य प्रभावित स्थानमा पनि स्थानीय तहसँग समन्वय गरी डिसइन्फेक्सनको काम अघि बढाउने तयारी भइरहेको छ ।
बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलनसँगै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको छ । विशेषगरी जलविद्युत् आयोजनाका टनेलभित्र प्रवेश गर्न कठिन भइरहेका कारण उद्धार टोलीले वैकल्पिक मार्ग निर्माण, पानी निकास, हावा प्रवाह तथा मेसिनरीको प्रयोगमार्फत खोजी कार्यलाई अघि बढाइरहेको छ ।
