काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको थियो । कटानसँगै माथिल्लो भूभागमा समेत चिरा परेपछि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
सडक विभागले अवरुद्ध सडकलाई १५ दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी थालेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ ।
पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीको ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पहिरो खसेको बताए ।
उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सञ्चालनमा ल्याउने गरी काम अघि बढाइने जानकारी दिए । विज्ञहरूको प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनभित्र राजमार्ग खुलाउने प्रयास गरिने उनको भनाइ छ ।
उनले तत्कालका लागि वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि बताए ।
‘राजमार्ग खुलाउनलाई सडक विभागले यसलाई हाइप्रायोरिटी दिएको छ । आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौँ र तत्कालै यही राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं,’ उनले भने ।
उनका अनुसार पृथ्वीराजमार्ग नेपालकै ‘लाइफलाइन’ भएकाले सडक सञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ ।
‘यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई हाम्रो उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ । सबै विज्ञहरूको टिम बनाएर उनीहरूको रायअनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौँ,’ उनले भने ।
सिंगल लेन डाइभर्सन बनाएर सडक खोल्ने तयारी
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै ‘स्लोप फेलियर’ भएको क्षेत्रमा दोहोरिएको बताए ।
उनका अनुसार तत्काल सडक सञ्चालनमा ल्याउन माथिल्लो भागमा रहेका जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ ।
सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणबद्ध रूपमा ‘निलिङ’ गर्दै लैजानुपर्ने उनको भनाइ छ । प्रारम्भिक अध्ययनमा तल्लो भागमा नदी कटान हाल रोकिएको देखिएको उनले बताए ।
ड्रोनबाट खिचिएका तस्बिरमा नदीको तल्लो भागमा ‘बेडरक’ भेटिएको हुन सक्ने देखिएकाले हाललाई माथिबाट डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको आचार्यले बताए ।
नदीको ‘टो–स्कर’ तथा कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले ‘¥याप’ गरेर तल्लो भाग संरक्षण गर्न सकिने उनको भनाइ छ । यस्तो संरचनाले नदीको कटान कम गर्नुका साथै विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ ।
उनका अनुसार हाल सडक सञ्चालनमा ल्याउन करिब १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाइ रहेको प्रभावित क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ ।
तीन–चारवटा मेसिन परिचालन गरी तीव्र गतिमा काम गर्न सके करिब १५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ ।
‘हामीले राजमार्ग छिटो सञ्चालनमा ल्याउन वैकल्पिक उपायहरू सोच्नुपर्छ । वैकल्पिक बाटो छ भने ट्राफिक डाइभर्ट गरेर गर्न सक्छौँ । होइन, यहीँबाट हामीले खोल्नुपर्छ भने त्यही नजिकै डाइभर्सन निकाल्न सकिन्छ भने डाइभर्सन निकाल्नुप¥यो,’ उनले भने ।
उनले नदीको तल्लो भागमा हुने कटान रोक्न जिओब्याग, ग्याभिन नेट तथा नेटले बेरिएका बोल्डर प्रयोग गर्न सकिने बताए ।
‘टो–स्करलाई मिनिमाइज गर्यो भने एक्जिस्टिङ स्लोप जुन एङ्गलमा अहिले बसेको छ, त्यही एङ्गलमा बसिरहन उसलाई अप्ठ्यारो हुँदैन । फेरि भत्किने चान्स कम हुन्छ । टो–इरोजिनलाई हामीले केही प्रोटेक्सन गर्न सक्छौँ,’ उनले भने ।
आचार्यका अनुसार पहिरोको लम्बाइ करिब १०० मिटर र उचाइ करिब १५ मिटर रहेको छ । तीन–चारवटा मेसिन प्रभावकारी रूपमा परिचालन गरेर माथिल्लो भागको कटिङ तथा सामग्री हटाउने काम तीव्र पार्न सके १५ दिनभित्र सडक खोल्न सकिने उनको भनाइ छ ।
उनले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो सञ्चालनमा ल्याउन सकिने बताए । सडकको भित्तो कटिङ गरी केही माथिबाट सडक खुलाउन सकिने उनको भनाइ छ ।
नदी करिडोरका सडकलाई विपद्–प्रतिरोधी बनाउने आवश्यकता
सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो तथा विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ ।
सहसचिव ढकालले नदीमा आउन सक्ने उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्नुपर्ने बताए ।
उनका अनुसार सुरुआती लागत केही बढे पनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिन आवश्यक छ ।
भोटेकोशी बाढीका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता विपद्को जोखिमलाई ध्यानमा राखेर पूर्वाधार निर्माणको डिजाइन र प्रविधिमा समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको विभागको भनाइ छ ।
– न्युज एजेन्सी नेपाल
