काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधिबाट सम्मान गरिने भएको छ। रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रममा सिंहलाई उक्त सम्मान प्रदान गर्न लागेको हो।
नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि सक्रिय सिंह अभिनयमार्फत दर्शकमाझ स्थापित अभिनेत्री हुन्। सन् १९९३ मा तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘दक्षिणा’बाट अभिनय यात्रा सुरु गरेकी उनले त्यसयता दर्जनौँ चलचित्रमा काम गरिसकेकी छन्।
‘रहर’, ‘मितज्यू’, ‘दर्पणछाया’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘ठुलदाई’, ‘बन्धकी’, ‘चाँदनी’, ‘को आफ्नो को विरानो’, ‘नाता रगतको’, ‘खानदान’, ‘दाल भात तरकारी’ र ‘३६ को आँकडा’लगायत चलचित्रमा उनको अभिनय देख्न सकिन्छ।
अभिनयका अतिरिक्त गायनमा पनि रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’को शीर्षगीतमा स्वर दिएकी छन्। उनले ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।
चलचित्र क्षेत्रमा पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको सम्मानस्वरूप उनलाई मानार्थ उपाधि प्रदान गर्न लागिएको रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए।
यसअघि अभिनेत्रीहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ उपाधिबाट सम्मान गरिसकिएको छ।
