काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अहिलेसम्म निश्चित नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले भ्रमणका लागि आवश्यक तयारी भइरहेको भए पनि मिति भने तय हुन बाँकी रहेको जानकारी दिए।
उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समय मिलाएर भ्रमणको मिति निर्धारण गरिनेछ। उनले उपयुक्त समयमा दुवै पक्षको सहमतिमा मिति सार्वजनिक गरिने बताए।
प्रधानमन्त्रीको भारत भ्रमण विगतमा हुँदै आएका नियमित उच्चस्तरीय भ्रमणकै निरन्तरता हुने मन्त्रालयको भनाइ छ। भ्रमणका क्रममा उठाइने विषय तथा एजेन्डा पनि दुवै देशबीचको समन्वय र सहमतिमा तय गरिने प्रवक्ता पौडेलले बताए।
