काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशन पटक–पटक उल्लङ्घन गरेको पाइएको छ। साथै, संस्थाका पदाधिकारीबाट सरकारद्वारा स्वीकृत विधान र संस्थाको मूल उद्देश्यसँग मेल नखाने गतिविधि भएको मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षसँग छलफल गरेको थियो। त्यसक्रममा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएको मन्त्रालयले जनाएको छ।
निर्देशनको निरन्तर अवज्ञा भएको निष्कर्षसहित मन्त्रालयले एन–प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। त्यस्ता गतिविधि गैरकानुनी मानिने र संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।
