मकवानपुर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले मकवानपुरमा लगातार वर्षा भइरहेपछि कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित सडक दुर्घटना, बाढी तथा पहिरोबाट हुन सक्ने जनधनको क्षति रोक्न यस्तो निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा शुक्रबार जारी सूचनाअनुसार कात्तिक १३ र १४ गते दुई दिन कान्ति लोकमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन।
प्रशासनका अनुसार कात्तिक १२ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण सडकमा बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा सवारी चालकको सुरक्षालाई ध्यानमा राखेर आवागमन रोक्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासनले तोकिएको समयमा कान्ति लोकमार्ग हुँदै यात्रा नगर्न र सवारी सञ्चालनसम्बन्धी सूचनाको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ।

