काठमाडौं । भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) पुनः सत्तामा आए समान नागरिक संहिता (यूसीसी) कार्यान्वयन गर्ने केन्द्रीय गृहमन्त्री अमित शाहले बताएका छन्।
लखनउमा आयोजित भाजपा प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शाहले आगामी विधानसभा निर्वाचनपछि पार्टीको सरकार बने यूसीसी लागू गरिने घोषणा गरेका हुन्। भारतका केही राज्यमा यसअघि नै समान नागरिक संहिता लागू भइसकेको उल्लेख गर्दै उनले उत्तर प्रदेशमा पनि त्यसलाई कार्यान्वयन गर्ने पार्टीको योजना रहेको बताए।
सन् २०२७ मा हुने उत्तर प्रदेश विधानसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक अवस्था र चुनावी रणनीतिबारे छलफल गर्न शाह लखनउ पुगेका हुन्। उनी दुईदिने प्रदेश कार्यसमिति बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।
बैठकमा मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्रीद्वय केशवप्रसाद मौर्य र ब्रजेश पाठक, प्रदेश अध्यक्ष पंकज चौधरीसहित भाजपा नेताहरूको उपस्थिति रहेको थियो।
सम्बोधनका क्रममा शाहले उत्तर प्रदेशमा भाजपाको विगतको चुनावी यात्राबारे पनि चर्चा गरे। कुनै समय प्रदेशमा पार्टीका ४४ जना मात्रै विधायक रहेको उल्लेख गर्दै उनले संगठन विस्तारपछि सन् २०१४ को लोकसभा निर्वाचनमा ४१ प्रतिशत मत प्राप्त गरी ७३ सिट जितेको दाबी गरे।
त्यस्तै, सन् २०१७ को विधानसभा निर्वाचनमा नोटबन्दीको प्रभावका बाबजुद भाजपाले करिब ४० प्रतिशत मतसहित ३१२ सिट हासिल गरेको उनको भनाइ थियो।
शाहको घोषणाप्रति समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। पत्रकारले यसबारे सोधेको प्रश्नमा उनले भने, ‘मेहरबान आउँदाआउँदै निकै ढिला गर्नुभयो।’
