मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रमबीच उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। सोही अवसरमा उनले नवीकरण गरिएका ब्लुबुक सेवाग्राहीलाई हस्तान्तरणसमेत गरे।
लामो समयदेखि जिल्लावासीले माग गर्दै आएको सेवा प्रदेश सरकारले अर्घाखाँचीमै उपलब्ध गराउन सफल भएको मुख्यमन्त्री आचार्यले बताए। जिल्लामै यातायातसम्बन्धी सेवा सुरु हुनु स्थानीय नागरिकका लागि खुसी र गौरवको विषय भएको उनको भनाइ थियो।
उनले यातायात क्षेत्रका सेवालाई थप विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको उल्लेख गरे। ब्लुबुक नवीकरण र सवारी साधनको राजस्व बुझाउन अब बुटवल पुग्नुपर्ने अवस्था अन्त्य भएको भन्दै उनले आगामी दिनमा अन्य सेवा पनि जिल्लामै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
मुख्यमन्त्री आचार्यका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सवारी साधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै सञ्चालन गर्ने योजना छ।
सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुनासोरहित बनाउन उनले सम्बन्धित कर्मचारी तथा व्यवसायीलाई निर्देशनसमेत दिएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी थपिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सेवाग्राहीले कुनै पनि प्रकारको सास्ती र असुविधा भोग्न नपर्ने गरी काम गर्न आग्रह गरे।
यातायात क्षेत्रको सेवा प्रवाहमा विभिन्न गुनासा आउने गरेको भन्दै उनले त्यस्ता समस्या दोहोरिन नदिन कर्मचारी र व्यवसायीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिए। नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा पनि उनले जोड दिए।
जिल्लामै ब्लुबुक नवीकरण सेवा सुरु भएपछि स्थानीय बासिन्दाको समय र खर्च दुवै बचत हुने भएको छ। सामान्य कामका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेसँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका अन्य सेवासमेत जिल्लास्तरबाटै उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
