काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार दिइएका निर्देशन पटक–पटक अवज्ञा गरेको भन्दै संगठनमाथि निलम्बनको निर्णय गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार एनप्याब्सनले सरकारबाट स्वीकृत विधान र संस्थाको घोषित उद्देश्यसँग मेल नखाने गतिविधिसमेत सञ्चालन गरेको पाइएको छ।
यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा २०८२ मङ्सिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, पटक–पटक निर्देशन दिँदा पनि त्यसको पालना नभएको मन्त्रालयको भनाइ छ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ अन्तर्गत जारी निर्देशन उल्लङ्घन भएको ठहर गर्दै ऐनको दफा ६ को उपदफा (२) बमोजिम संगठनलाई निलम्बन गरिएको सूचनामा उल्लेख छ।
मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि एनप्याब्सनको नाम प्रयोग गरी कुनै समूह वा गुटले गर्ने गतिविधि गैरकानुनी हुने चेतावनी दिएको छ। त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

