काठमाडौं । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा विदेशी यात्रुलाई यातायात सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
नेपाल आउने पर्यटक तथा हवाई यात्रुलाई विमानस्थलबाट उनीहरूको प्रारम्भिक गन्तव्यसम्म सुरक्षित र व्यवस्थित रूपमा पुर्याउने सेवा कम्पनीले सञ्चालन गर्दै आएको हो।
कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले यात्रुको सुविधालाई ध्यानमा राखेर दिवा तथा रात्रिकालीन सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन्। उनका अनुसार कम्पनीले दैनिक करिब चार हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ।
हाल कम्पनीसँग २०८ वटा पर्यटकीय सवारीसाधन छन्। ती सवारीमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई यातायात सुविधा प्रदान गरिँदै आएको अध्यक्ष सिम्खडाले राससलाई बताए।
नेपालको पर्यटन प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विमानस्थलमा ओर्लिने यात्रुलाई भरपर्दो यातायात सुविधा उपलब्ध गराउँदा उनीहरूको नेपाल बसाइ सहज र सुखद बन्ने बताए।
पर्यटकको आवागमन बढ्दै गएकाले सेवा थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।
यद्यपि, निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रूपमा भाडामा यात्रु ओसारपसार गर्ने गतिविधिका कारण व्यवसायीलाई समस्या भइरहेको अध्यक्ष सिम्खडाले बताएका छन्।
विसं २०६७ मा स्थापना भएको कम्पनीले हाल ४५० भन्दा बढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारीसमेत प्रदान गर्दै आएको छ।
