काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि रिहा भएका छन् ।
प्रहरीले विभिन्न सञ्चारमाध्यमका न्यूजरुममै पुगेर पत्रकार तथा सञ्चारकर्मीलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री कार्यालयले उनीहरूलाई तत्काल रिहा गर्न प्रहरीलाई निर्देशन दिएको थियो । उक्त निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भएको जनाइएको छ ।
प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै, मोटिभेट न्युजका सम्पादकसहित अन्य सञ्चारकर्मीलाई पनि प्रहरीले पक्राउ गरेको विवरण प्राप्त भएको छ ।
यसैबीच, प्रहरीले पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेर पत्रकार नवराज मैनालीको खोजी गरेको छ ।
नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार सादा पोसाकमा आएका चारदेखि पाँच जनाको प्रहरी टोलीले मैनालीलाई उपलब्ध गराउन दबाब दिएको थियो । प्रहरीले माथिल्लो निकायको आदेश भन्दै उनलाई खोजे पनि पक्राउ पुर्जी भने देखाएको थिएन ।
पन्तका अनुसार उक्त प्रहरी टोली महानगरीय अपराध महाशाखाबाट आएको थियो ।
सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा खोजी गर्ने घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे चासो बढाएको छ । यद्यपि, पत्रकार पक्राउ पर्नुको कारण र घटनाबारे प्रहरी तथा प्रधानमन्त्री कार्यालयको विस्तृत आधिकारिक धारणा आउन बाँकी छ ।
