हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनका अनुसार बिहीबार पश्चिमी ताइजको मकबाना जिल्लास्थित अल–बर्ह क्षेत्रका आवासीय बस्तीमा हवाई आक्रमण भएको हो । विद्रोही पक्षले उक्त आक्रमणका लागि ‘साउदी नेतृत्वको गठबन्धन’लाई जिम्मेवार ठहर्याएको छ । यद्यपि, घटनाबारे विस्तृत प्रमाण भने सार्वजनिक गरिएको छैन ।
आक्रमण र मानवीय क्षतिसम्बन्धी उक्त दाबीबारे साउदी अरेबिया तथा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका तर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । स्वतन्त्र स्रोतहरूले समेत घटनाको आधिकारिक पुष्टि गर्न सकेका छैनन् ।
रणनीतिक महत्त्व बोकेको ताइज प्रान्तमा पछिल्ला दिनहरूमा हुथी विद्रोही र सरकारी सुरक्षा बलबीचको भिडन्त तीव्र बन्दै गएको छ । प्रान्तको नियन्त्रण कायम गर्न दुवै पक्षबीच विभिन्न मोर्चामा जारी भीषण लडाइँका कारण सर्वसाधारणको जीवन जोखिममा परेको छ ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए)ले ताइजमा बढ्दो मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसङ्घका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा निरन्तरको आवागमन प्रतिबन्धका कारण औषधि, इन्धन तथा पिउने पानीको चरम अभाव सिर्जना भएको छ । यसले स्वास्थ्य सेवा नाजुक अवस्थामा पुर्याएको छ । लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसक्दा महामारी फैलिन सक्ने जोखिमसमेत बढेको छ ।
सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी सानालगायत उत्तरी भूभाग कब्जा गरेपछि यमन गृहयुद्धमा फसेको थियो । त्यसको प्रतिकारस्वरूप अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सन् २०१५ देखि साउदी नेतृत्वको सैन्य गठबन्धनले सैन्य हस्तक्षेप सुरु गरेको थियो । त्यसयता यमनमा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन् ।
