वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वकै लागि खुला स्टुडियोका रूपमा व्याख्या गरे ।
महोत्सवमा बोल्दै वरिष्ठ कलाकार आचार्यले चलचित्र क्षेत्रलाई थप व्यावसायिक र गौरवमय बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली चलचित्र क्षेत्रलाई दिएको अभिभावकत्वको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिए ।
आचार्यका अनुसार नेपालको भौगोलिक अवस्था र ऐतिहासिक सम्पदाहरू चलचित्र छायाङ्कनका लागि संसारकै उत्कृष्ट गन्तव्य बन्न सक्छन् ।
आचार्यले आफूहरू मात्र नभई आ–आफ्नो क्षेत्रबाट योगदान दिने हरेक व्यक्ति हिरो भएको उल्लेख गर्दै सुनिता डंगोलले चलचित्र क्षेत्रका लागि निर्वाह गरेको अभिभावकत्व सराहनीय रहेको बताए । प्रकृतिले नै सिर्जना गरिदिएको खुला स्टुडियोका रूपमा रहेको नेपालमा कति काम गर्न सकिन्छ भन्ने कुरामा देशको प्रगति निर्भर रहने उनको भनाइ छ ।
उनले चलचित्रलाई विश्वले बुझ्ने साझा भाषाका रूपमा उल्लेख गर्दै गौरवमय इतिहास बोकेका नेपाली चलचित्र निर्माण गर्ने दायित्व चलचित्रकर्मीहरूको काँधमा रहेको बताए ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको यस महोत्सवलाई हालसम्मकै वृहत् र गरिमामय कार्यक्रमको संज्ञा दिँदै उनले यसको सफलताका लागि खटिने सम्पूर्ण प्राविधिक तथा सहयोगी टोलीप्रति कृतज्ञता व्यक्त गरे । यस कार्यक्रमले नेपाली चलचित्रको प्रतिष्ठा र उचाइ बढाएको पनि उनले बताए ।
खेलकुद र सङ्गीतजस्तै चलचित्र पनि राष्ट्रको पहिचानको बलियो आधार भएको उल्लेख गर्दै आचार्यले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माणको अभियानमा लाग्न सम्पूर्ण चलचित्रकर्मीलाई आह्वान गरे ।
