राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दंगालले विपद्को यस घडीमा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् । चीनको तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको सन्दर्भ उल्लेख गर्दै उहाँले हजारौँ नागरिक अझै बेपत्ता रहेको र घाइतेहरूको सङ्ख्या ठूलो रहेको बताए । मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै उहाँले बेपत्ताको खोजी र घाइतेको उपचारमा ढिलाइ गर्न नहुने बताए । उहाँले राहत वितरणमा देखिएको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै तीनै तहका सरकारबिच प्रभावकारी समन्वय गरी राहत र खोज कार्यलाई गति दिन आग्रह गरे ।
विपद्पछिको पुनर्निर्माणका सन्दर्भमा उहाँले ‘विपद्पछिको आवश्यकता आँकलन’ गरी यथार्थ तथ्याङ्कका आधारमा पुनस्र्थापनाको काम शुरु गर्न सुझाव दिए । ‘विल्ड ब्याक बेटर’ अर्थात् अझ राम्रो र बलियो संरचना निर्माणको अवधारणालाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै उहाँले विस्थापित परिवारका लागि सुरक्षित र एकीकृत बस्ती विकास गर्न तथा क्षतिग्रस्त कृषि भूमिको उकास गरी किसानलाई पुनस्र्थापित गर्न माग गरे । नेता दंगालले यस प्राकृतिक विपद्लाई जलवायु परिवर्तनको परिणामका रूपमा चित्रण गर्दै यसमा नेपालको भूमिका न्युन रहे पनि विकसित देशहरूको कार्बन उत्सर्जनका कारण नेपालले ठूलो मूल्य चुकाउनु परेको बताए ।
उहाँले भन्नुभयो, ‘नदी किनारमा छरिएका शवहरूको पहिचान गरी आफन्तलाई बुझाउन र विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा थुनिएका मजदुरहरूको तत्काल उद्धार गर्न राज्यले तदारुकता देखाउनुपर्छ । विकसित मुलुकहरूले गरेको जलवायु अन्याय हामीलाई सह्य छैन, हाम्रा हिमाल पग्लिरहेका छन् र हामीले क्षति व्यहोर्नु परिरहेको छ । यस विषयको अन्तर्राष्ट्रियकरण गर्दै दिगो विकासको अवधारणा मार्फत पृथ्वी र मानव सभ्यताको रक्षाका लागि सरकारले पहल गरोस् ।’
जलवायु न्यायका लागि हरित जलवायु कोषबाट क्षतिपूर्ति प्राप्त गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाउनुपर्ने उहाँको भनाइ छ । उहाँले सबै राजनीतिक दल, सङ्घसंस्था र नागरिक समाजलाई साथमा लिएर राष्ट्रिय एकताका साथ यो चुनौतीको सामना गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।
