काठमाडौं । भेनेजुएलाको सेनाले कोलम्बियाली विद्रोही समूहको शिविरलाई लक्षित गरी गरेको सैन्य कारबाहीमा कम्तीमा नौ जनाको ज्यान गएको छ। सीमावर्ती अपुरे राज्यको ग्रामीण क्षेत्रमा शुक्रबार उक्त आक्रमण भएको एक गैरसरकारी संस्थाले जनाएको छ।
फन्डारेड्स नामक संस्थाका निर्देशक जेभियर टाराजोनाले एएफपीसँग कुरा गर्दै सैन्य कारबाहीका क्रममा विद्रोही शिविरमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्। उनका अनुसार सन् २०१६ मा कोलम्बियामा विद्रोही समूहसँग शान्ति सम्झौता भएपछि भेनेजुएलाको भूमिमा भएको यो पहिलो प्रकृतिको आक्रमण हो।
संस्थाले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा शवहरू छरिएको, रुखहरू ढलेको र शिविर रहेको अनुमान गरिएको क्षेत्रमा भग्नावशेष देखिएको छ। भिडियोमा संस्थाका एक कर्मचारीले कम्तीमा नौवटा शव फेला पारेको विवरण दिएका छन्।
घटनाबारे प्रतिक्रिया लिन एएफपीले गरेको अनुरोधमा भेनेजुएला सरकारले तत्काल कुनै जवाफ दिएको छैन।
सन् २०१६ मा कोलम्बियाली सरकारसँग भएको शान्ति सम्झौतामा क्रान्तिकारी सशस्त्र बल (एफएआरसी) ले हस्ताक्षर गरेको थियो। त्यसपछि नेसनल लिबरेसन आर्मी (ईएलएन) ल्याटिन अमेरिकाको प्रभावशाली विद्रोही संगठनका रूपमा सक्रिय रहँदै आएको छ। दुई देशबीच फैलिएको दुई हजार किलोमिटरभन्दा लामो सीमावर्ती क्षेत्रमा विभिन्न सशस्त्र समूहको गतिविधि जारी छ।
शान्ति सम्झौतामा सहभागी नभएका एफएआरसीका केही समूहले सीमावर्ती क्षेत्रमा कोकिन तस्करी र अवैध खानीमाथिको नियन्त्रणका लागि आपसी द्वन्द्व गर्दै आएका छन्। कोलम्बियाली सरकारले विगतदेखि नै भेनेजुएलामाथि विद्रोही समूहलाई आफ्नो भूमिमा आश्रय दिएको आरोप लगाउँदै आएको छ।
यसैबीच, मानव अधिकारकर्मी तथा सैन्य मामिलाकी जानकार रोसियो सान मिगुएलले अपुरे राज्यका स्थानीय बासिन्दाबाट प्राप्त सूचनाअनुसार आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएकी छन्। यद्यपि, उक्त विवरणको स्वतन्त्र पुष्टि भएको छैन।
