काठमाडौं । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाल यस वर्षको ‘टीका गोपाल राष्ट्रिय गीत–सङ्गीत पुरस्कार–२०८३’ बाट सम्मानित हुने भएका छन्।
टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। प्रतिष्ठानका अनुसार पुरस्कार वितरणका लागि यसै साता काठमाडौंमा विशेष समारोह आयोजना गरिनेछ।
यसअघि यो पुरस्कार संगीतकार सन्तोष श्रेष्ठ र गीतकार डा. डीआर उपाध्यायलाई प्रदान गरिएको थियो। नेपाली गीत–सङ्गीत क्षेत्रको विकासमा योगदान पुर्याउने स्रष्टालाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले गायक एवं संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्।
साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध आयामलाई सिर्जनामार्फत प्रस्तुत गर्दै नेपाली वाङ्मयको उन्नयनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै दाहाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
शब्दसाधना र सिर्जनालाई जीवनदर्शनका रूपमा आत्मसात् गर्दै साहित्यलाई समाजको प्रतिबिम्बका रूपमा प्रस्तुत गर्दै आएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन्।
