काठमाडौँ । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य केन्द्र उद्घाटनका क्रममा भएको विवादले झडपको रूप लिँदा गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार पासवानलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदैछ । उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईका अनुसार पासवानलाई आज बिहान ११ः४० बजे हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । गोली उनको कम्मरनजिक लागेको र शल्यक्रिया गरी गोली निकालिसकिएको उनले जानकारी दिए ।
सङ्घीय सरकारको लगानीमा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीका विरोधी स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो ।
अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीचको विवाद बढ्दै गएर झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । घटनामा पासवान घाइते भएका हुन् ।
