सिड्नी मेट्रोका अनुसार यात्रुको सहजताका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाको पहिचान खुल्ने चिह्न लगाउनेछन्। यस व्यवस्थामा श्रवणशक्ति कमजोर भएका तथा बोल्न नसक्ने व्यक्तिलाई सहज सञ्चारमा सहयोग पुर्याउन अस्ट्रेलियाली साङ्केतिक भाषा ‘अस्लान’ पनि समावेश गरिएको छ।
कर्मचारीको पोसाकमा राखिने भाषासम्बन्धी चिह्नले यात्रुलाई आफूले बोल्ने वा बुझ्ने भाषा जान्ने कर्मचारी पहिचान गर्न सहज बनाउनेछ। यसबाट रेल सेवा प्रयोग गर्दा गन्तव्य पहिचान, यात्रा व्यवस्थापन तथा मेट्रो सेवासम्बन्धी आवश्यक जानकारी लिन भाषागत कठिनाइ कम हुने अपेक्षा गरिएको छ।
अब मेट्रो यात्राका क्रममा कुनै समस्या वा जानकारी आवश्यक परेमा यात्रुले आफ्नो भाषाको चिह्न लगाएका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गरी सहयोग लिन सक्नेछन्।
सिड्नी मेट्रोको यो व्यवस्थाले विभिन्न भाषा बोल्ने तथा फरक सांस्कृतिक पृष्ठभूमि भएका समुदायलाई सार्वजनिक यातायातमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, भाषा र सञ्चारसम्बन्धी अवरोध कम गर्दै मेट्रो सेवालाई थप समावेशी बनाउन यसले सहयोग पुर्याउने विश्वास गरिएको छ।
