मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदमुक्त नगरेसम्म आन्दोलन जारी राख्ने खड्गेको चेतावनी
काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको भूमिकामाथि प्रश्न उठाउँदै सरकारविरुद्ध आन्दोलन जारी राख्ने बताएका छन् ।
नयाँदिल्लीस्थित रामलीला मैदानमा आयोजित ‘भोट बचाओ, देश बचाओ’ र्यालीलाई सम्बोधन गर्दै खड्गेले सत्तारूढ नेतृत्वले युवा, महिला तथा दलित समुदायको मताधिकार प्रभावित पार्न खोजेको आरोप लगाए ।
उनले मोदी र शाहमाथि नागरिकको मताधिकार खोस्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको विरोधमा आफूहरू सडकमा उत्रिएको बताए ।
प्रधानमन्त्री मोदीले आफू निकट व्यक्तिलाई मुख्य निर्वाचन आयुक्त नियुक्त गरेर मतदाताको मत विभाजन तथा अधिकारमाथि हस्तक्षेप गरिरहेको खड्गेको आरोप थियो । उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउनुपर्ने मागसमेत दोहोर्याए ।
‘ज्ञानेश कुमारलाई पदबाट नहटाएसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ उनले भने ।
खड्गेले ज्ञानेश कुमार जहाँ लुके पनि खोजेर बाहिर ल्याउने अभिव्यक्ति दिएका छन् । साथै, प्रधानमन्त्री मोदीले सीबीआई र प्रवर्तन निर्देशनालय (ईडी) जस्ता सरकारी अनुसन्धान निकाय प्रयोग गरेर विपक्षीलाई डराउन खोजेको आरोप लगाउँदै आफूहरू दबाबमा नपर्ने बताए ।
उनले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार गठन प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् । बिहार र उत्तर प्रदेशलगायतका राज्यमा सरकार गठन गर्दा जनादेशको दुरुपयोग भएको दाबी गर्दै खड्गेले ती सरकारलाई ‘चोरी गरेर बनेका सरकार’ को संज्ञा दिए ।
‘यो लडाइँ सत्तामा रहेका चोरहरूलाई हटाउने हो । मोदी सत्ताबाट बाहिरिए मात्रै लोकतन्त्र जोगिन्छ,’ उनले सम्बोधनका क्रममा भने ।
खड्गेले लोकतन्त्र र संविधानको संरक्षणका लागि विपक्षी दल तथा आम नागरिकलाई एकजुट हुन आह्वान गरेका छन् । संविधान र जनताको मताधिकारको रक्षाका लागि सामूहिक रूपमा संघर्ष गर्नुपर्ने उनको भनाइ थियो ।
