संसदमा बहुमत हुँदैमा सरकार लोकतान्त्रिक ठहरिँदैन, जनताको विश्वास जित्नुपर्ने जेनजी अगुवा विकको भनाइ
काठमाडौं । जेनजी अगुवा किरण विकले सञ्चारगृहको न्यूजरुममै प्रवेश गरेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडप्रति आपत्ति जनाएका छन् । उनले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै विरोध गरेका छन् ।
आइतबार नेपाल प्रेसको कार्यालय पुगेका विकले स्वतन्त्र पत्रकारिताको पक्षमा ऐक्यबद्धता जनाउँदै समाचार प्रकाशनकै विषयलाई आधार बनाएर सञ्चारगृहभित्र पत्रकार पक्राउ गर्नु आपत्तिजनक भएको बताए । उनले प्रहरीको उक्त गतिविधिलाई ‘प्रहरी सिर्जित आतंक’ को संज्ञासमेत दिए ।
नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल, अध्यक्ष विन्दुराज लम्साललगायतसँगको छलफलमा विकले राज्य र नागरिकका पक्षमा खबरदारी गरिरहेका सञ्चारमाध्यममाथि घण्टौँसम्म प्रहरी परिचालन गरेर धरपकड गर्नु उचित नभएको धारणा राखे ।
पत्रकार र सञ्चारमाध्यमले निर्भय रूपमा आफ्नो काम गर्न पाउने वातावरण नबनेसम्म लोकतन्त्र र विकास दुवै बलियो हुन नसक्ने उनको भनाइ थियो ।
प्रहरीको यस्तो कदमले अन्तर्राष्ट्रियस्तरमा नेपालको छविमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उनले बताए । प्रहरी संगठनलाई दुरुपयोग गरिनु थप चिन्ताको विषय भएको उनको टिप्पणी थियो ।
संसदमा दुईतिहाइ समर्थन प्राप्त भए पनि रास्वपा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य र जनताको विश्वासको कसीमा अझै परीक्षणकै चरणमा रहेको विकले बताए । उनले पत्रकारको सुरक्षा सुनिश्चित गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराए ।
घटना भएको तीन दिन बितिसक्दा पनि सरकारले छानबिन प्रक्रिया अघि नबढाएको र घटनाबारे स्पष्ट जवाफदेहिता प्रस्तुत नगरेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।
