१० वर्षदेखि रोकिएका दुई पुलसहित सडक स्तरोन्नति आयोजनाको सम्झौता अन्त्य, निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि सरकारको कडाइ
काठमाडौं । रौतहटमा लामो समयदेखि निर्माण पूरा हुन नसकेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि काम अघि नबढेपछि दुई पुल निर्माण र एउटा सडक स्तरोन्नति आयोजनाको ठेक्का अन्त्य गरिएको हो ।
ठेक्का रद्द गरिएका आयोजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति तथा पुनर्स्थापना योजना रहेका छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्त्य गरी बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।
मन्त्री लम्सालका अनुसार लमाहा र लौकाहा खोला पुल निर्माणको काम करिब १० वर्षदेखि रोकिएको थियो । दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु–शिवशंकर जेभी, गरुडा रौतहटसँग सम्झौता भएको थियो ।
सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गरिएको थियो । अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्याउँदासमेत निर्माण पूरा हुन नसकेपछि सरकारले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो ।
पुल निर्माणमा भएको लामो ढिलाइका कारण स्थानीय बासिन्दाले आवागमनमा निरन्तर समस्या भोग्दै आएका छन् । अब बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिने मन्त्री लम्सालले बताएका छन् ।
यसैगरी, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि दिइएको ठेक्का पनि रद्द गरिएको छ । गत आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि सम्झौता अन्त्य गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन् ।
सरकारले लामो समयदेखि रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनालाई गति दिन ठेक्का व्यवस्थापनमा कडाइ गर्ने नीति लिएको छ । निर्माण सम्पन्न हुने सम्भावना भएका आयोजनालाई अन्तिम अवसर दिने र त्यसपछि पनि काम अघि नबढे ठेक्का रद्द गरी नयाँ प्रक्रियाबाट काम सम्पन्न गर्ने सरकारको योजना रहेको मन्त्री लम्सालको भनाइ छ ।
अलपत्र आयोजनाका कारण नागरिकले भोग्दै आएको समस्या हटाउने र सार्वजनिक पूर्वाधार निर्माणलाई तीव्रता दिने उद्देश्यले ठेक्का व्यवस्थापनमा कडाइ गरिएको सरकारले जनाएको छ ।
