तामागढी सडकखण्डमा सोमबार बिहान करिब ५ बजेर १० मिनेट जाँदा गरिएको गस्तीका क्रममा तीनवटा साइकलमा राखेर ल्याइँदै गरेका चल्ला फेला परेका हुन्। विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरी बल सुरक्षा बेस कोल्हवीको टोलीले ती चल्ला नियन्त्रणमा लिएको थियो। टोलीको नेतृत्व बेसका इन्चार्ज सई रामअयोध्या महतोले गरेका थिए।
बरामद चल्लाको अनुमानित मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध रूपमा भित्र्याइएका चल्लालाई पशु क्वारेन्टाइन चेकपोस्ट मटिअर्वा, बाराबाट खटिएका प्रतिनिधि विनोद यादव, कोल्हवी नगरपालिका–१ का वडाध्यक्ष राजहरण चौधरी, अनुसन्धानकर्मी जंगबहादुर चौधरी, सञ्चारकर्मी तथा राजनीतिकर्मी भुवन चौधरीलगायतको रोहवरमा खाडल खनेर गाडिएको थियो।
नेपालमा पक्षी तथा पक्षीजन्य वस्तुको अवैध आयातमाथि प्रतिबन्ध रहे पनि सीमावर्ती क्षेत्रमा लुकिछिपी यस्ता सामग्री भित्र्याउने प्रयास रोकिएको छैन। विशेषगरी अवैध रूपमा आयात गरिएका चल्लाबाट संक्रामक रोग भित्रिन सक्ने जोखिम रहने भएकाले यसले कुखुरापालन व्यवसाय र पशु स्वास्थ्य सुरक्षामा चुनौती थप्ने गरेको छ।
सीमा क्षेत्रमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाउनुपर्ने आवश्यकता यस घटनाले फेरि देखाएको छ।
