काठमाडौं । नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग उठाउन पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले यस्तो निर्देशन दिएका हुन् । अदालतमा बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरी हिरासतमा रहेका सापकोटासँग जोडिएको घटनाको वास्तविकता बाहिर ल्याउन संसदीय तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।
पौडेलले पार्टीका तर्फबाट बैठकमा उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनको माग गर्नुपर्ने धारणा राखेको जानकारी दिएका छन् ।
त्यस्तै, सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यशैली, कर्मचारीलाई पक्राउ गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्याइएको घटना र न्यायालयसँग जोडिएको बिचौलिया प्रकरणबारे संसद्मा गम्भीर छलफल आवश्यक रहेको उनले बताएका छन् ।
यी विषयमा सरकारलाई जवाफदेही बनाउन तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्नसमेत कांग्रेस संसदीय दललाई आग्रह गरिएको महामन्त्री पौडेलले जानकारी दिएका छन् ।
