भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसानले तिहारका लागि सयपत्री फूल उत्पादन गरिरहेका छन्। स्थानीय खेतबारीमा फुलेका पहेँला र सुन्तला रङका सयपत्री फूलले क्षेत्रको सौन्दर्य बढाउनुका साथै स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन्।
भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुना क्षेत्रमा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले फूलखेती गरेका छन्। उनीहरूले प्रतिव्यक्ति दुई–दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन्।
किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले फूलखेती विस्तार गर्न आफूहरूलाई प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन्।
स्थानीय उत्पादनको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमाथिको निर्भरता घटाउनुका साथै किसानको आम्दानीसमेत वृद्धि गर्न सकिने उनको विश्वास छ।
तर फूलखेतीप्रति आकर्षण बढ्दै गए पनि उत्पादित फूलको उचित व्यवस्थापन किसानका लागि मुख्य चुनौती बनेको छ। चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री नहुँदा खेर जाने जोखिम रहेको किसान बालकृष्ण गैह्रेले बताए।
फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उपयुक्त व्यवस्था नहुँदा लगानी र श्रम खेर जाने चिन्ता बढेको उनको भनाइ छ।
त्यस्तै, सयपत्री फूल लामो समयसम्म सुरक्षित राख्न आवश्यक चिस्यानयुक्त भण्डारण गृह नहुँदा बजारको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कठिन भइरहेको किसान बद्रिनाथ गैह्रेले बताए।
उनले स्थानीयस्तरमा उत्पादित सयपत्री फूललाई बजारमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै त्यसो गर्न सके किसानको मेहनतको उचित मूल्य प्राप्त हुने र आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रोत्साहन मिल्ने बताए।
स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके भिमादमा सयपत्री फूलखेती आम्दानीको भरपर्दो माध्यम बन्न सक्ने देखिएको छ। त्यसका लागि उत्पादित फूलको बजारीकरण र भण्डारण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने किसानको अपेक्षा छ।
