बर्दिबास । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेका नागरिकले आफ्नो निर्णयप्रति पुनर्विचार गर्न थालेको दाबी गरेका छन्।
महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति आम नागरिक र बौद्धिक समुदायमा असन्तुष्टि बढेको जिकिर गरे। रास्वपालाई मत दिएर परिवर्तनको अपेक्षा गरेका मतदाताले अहिले आफूहरूले गलत निर्णय गरेको महसुस गर्न थालेको उनको भनाइ थियो।
उनले गाउँगाउँसम्म सरकारका गतिविधिबारे जानकारी पुर्याउन आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गर्ने बताए। उक्त अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधि जनतामाझ उजागर गर्ने उनको भनाइ छ।
सरकारविरुद्ध आवश्यकताअनुसार आन्दोलन गर्ने तयारीसमेत पार्टीले गरिरहेको प्रचण्डले जानकारी दिए। आन्दोलनको स्वरूप र समय भने तत्कालीन राजनीतिक परिस्थितिका आधारमा तय गरिने उनले बताए।
यसैबीच, मधेश प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग छलफल भइरहेको पनि उनले उल्लेख गरे। ती दलबीचको संवादबाट चाँडै निष्कर्षमा पुग्ने अपेक्षा रहेको प्रचण्डको भनाइ छ।
