झापा । स्थानीय किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले अवैध रूपमा भित्रिने फूल तथा प्लास्टिकबाट बनेका कृत्रिम फूलको बिक्री–वितरण नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै गैरकानुनी फूल आयात रोक्न र स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्। उनका अनुसार खुला सीमाको दुरुपयोग गर्दै तिहार र छठजस्ता पर्वका बेला भारतबाट ठूलो परिमाणमा फूल भित्रिने गरेको छ।
झापाका व्यावसायिक फूल उत्पादक किसानले बाहिरबाट आउने फूलका कारण स्थानीय उत्पादनले बजार नपाएको भन्दै आयात नियन्त्रणको माग गर्दै आएका थिए। जिल्लाको माग धान्न सक्ने गरी स्थानीय किसानले फूल उत्पादन गरिसकेको प्रशासनको भनाइ छ।
प्रजिअ पोखरेलले यस वर्ष चाडपर्वमा स्वदेशमै उत्पादित सयपत्री र मखमली फूल प्रयोग गर्न जिल्लावासीलाई आग्रह गरेका छन्। स्थानीय युवामा कृषि उद्यमप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले स्वदेशी उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्ने बताए।
मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्तिलगायतका स्थानीय तहमा दर्जनौँ किसानले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन्। चाडपर्वमा घर तथा आँगन सजाउन जिल्लाभित्रै उत्पादन भएका प्राकृतिक फूल पर्याप्त हुने अनुमान गरिएको छ।
प्रशासनको निर्देशनले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात नियन्त्रण हुनुका साथै स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको मेचीनगर–४ का फूल उत्पादक नीलकण्ठ तिवारीले बताए।
यसैगरी, प्रचलित कानुनले प्रतिबन्ध लगाएका प्लास्टिकका फूल बिक्री, वितरण वा भण्डारण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
