काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बिचौलियासँग सरकार, न्यायालय र राज्यका विभिन्न निकायको सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि निष्पक्ष तथा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले प्रकरणमा विभिन्न पक्षको नाम जोडिएर प्रश्न उठिसकेकाले त्यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।
उनले सरकार आफैँसँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गर्न सक्षम छ कि छैन भन्ने प्रश्नसमेत उठेको उल्लेख गरे । अदालत, सरकार र समग्र राज्य संयन्त्रलाई बिचौलियाको प्रभावबाट मुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।
पौडेलले बिचौलिया प्रकरणमा सरकार, अदालत, प्रहरी प्रशासनलगायत महत्त्वपूर्ण निकायको नाम जोडिएकाले यसलाई सामान्य रूपमा लिन नहुने बताए । घटनामा कसको कस्तो भूमिका र संलग्नता छ भन्ने विषय स्पष्ट पार्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले जोड दिए ।
यसका साथै पत्रकारमाथिको हस्तक्षेप, प्रहरी प्रशासनको भूमिका र न्यायालयसँग सम्बन्धित विवादित विषयको छानबिनका लागि संसद् बैठक तत्काल बोलाउनुपर्ने उनको माग छ ।
पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति पनि पौडेलले आपत्ति जनाए । दुई तिहाइको सरकार गठनपछि प्रेस स्वतन्त्रता थप सुदृढ हुने अपेक्षा गरिए पनि त्यसविपरीत पत्रकारलाई नियन्त्रण गर्ने, त्रास देखाउने र समाचार लेखेकै आधारमा दबाब सिर्जना गर्ने गतिविधि भइरहेको उनको आरोप छ ।
