काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीनले नेपाललाई समयमै पूर्वसूचना उपलब्ध गराउन नसकेको परराष्ट्र सचिव अमृतबहादुर राईले बताएका छन्। चिनियाँ पक्षले आफैँले पनि बाढीबारे जानकारी पाउन ढिला भएकाले नेपाललाई खबर गर्न नसकेको जवाफ दिएको उनले बताएका हुन्।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै सचिव राईले चिनियाँ पक्षसँग यस विषयमा ध्यानाकर्षण गराइसकेको जानकारी दिए।
उनका अनुसार चिनियाँ पक्षले बाढीको सूचना प्राप्त गर्दा आफ्नै नागरिकलाई समेत सचेत गराउन पर्याप्त समय पाएको थिएन। त्यसैले नेपाललाई तत्काल जानकारी दिन नसकिएको जवाफ आफूले पाएको उनले समितिलाई बताए।
राईले बाढीको तीव्रता र घटना अचानक घटेका कारण पूर्वसूचना आदानप्रदान गर्ने समय निकै कम रहेको उल्लेख गरे। घटना भएपछि पूर्वसूचना किन आएन भन्ने प्रश्न उठ्नु स्वाभाविक भए पनि त्यसबेला सूचना प्रवाहका लागि पर्याप्त समय नरहेको उनको भनाइ थियो।
बाढीबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीले तल्लो तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको पनि उनले बताए। तर, बाढी नियमित रूपमा आउने भएकाले यसपटक पनि ठूलो जोखिम नहुने ठानेर कतिपय स्थानीयले प्रहरीको आग्रहलाई बेवास्ता गरेको राईले जानकारी दिए।
उनका अनुसार चिनियाँ पक्षले आफ्ना नागरिकलाई समेत समयमै सचेत गराउन नसकेको थियो। यदि चिनियाँ पक्षले पहिले नै बाढीको जोखिमबारे जानकारी पाएको भए कम्तीमा आफ्ना नागरिकलाई सुरक्षित गर्न सक्ने अवस्था रहने उनको भनाइ छ।
बाढीको घटनामा तत्काल सूचना आदानप्रदान हुन नसकेको स्वीकार गर्दै राईले भविष्यमा यस्ता विपद्का बेला प्रभावकारी सूचना संयन्त्र आवश्यक रहेको विषयलाई पनि संकेत गरेका छन्।
