काठमाडौं । राजधानीको चावहिलमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ निवासी सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान काठमाडौँ महानगरपालिका–७ अन्तर्गत चावहिल ओरालोमा दुर्घटना भएको हो। गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ जाँदै गरेको बाप्र ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल पुर्याइए पनि उपचारकै क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुवेदीले बताएका छन्।
