काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि टोल दस्तुर लागू गरिएको पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ संकलन भएको छ। आइतबार करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार कात्तिक १५ गते राति १२ बजेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन थालिएको हो। पहिलो दिनको तथ्यांकअनुसार सवारी चाप र आम्दानी दुवै आयोजनाको प्रारम्भिक अनुमानभन्दा बढी देखिएको छ।
आयोजनाले सुरुमा दैनिक करिब ५ हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरेको थियो। तर पहिलो दिन नै त्यसको तुलनामा बढी सवारी गुडेका छन्। पन्थीका अनुसार सुरुङमार्गमा औसत दैनिक सवारी चाप करिब ८ हजार ५०० रहने अनुमान छ। दसैंका बेला भने दैनिक १० हजारभन्दा बढी सवारीसाधनले उक्त सडक प्रयोग गरेका थिए।
सुरुङमार्गको टोल शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको पन्थीले बताए। वास्तविक आम्दानी र सवारी चापबारे आगामी दिनको तथ्यांक तथा प्रयोगकर्ताको प्रतिक्रियाले थप स्पष्ट पार्ने उनको भनाइ छ।
इन्धन बचतलाई शुल्क निर्धारणको मुख्य आधार
सुरुङमार्ग प्रयोग गर्दा सवारीसाधनले गर्ने इन्धन बचतलाई टोल शुल्क निर्धारणको प्रमुख आधार बनाइएको आयोजनाले जनाएको छ। वैकल्पिक सडकको तुलनामा सुरुङमार्गबाट यात्रा गर्दा इन्धन खर्च कम हुने भएकाले त्यसबाट प्रयोगकर्ताले पाउने आर्थिक लाभलाई ध्यानमा राखेर शुल्क तय गरिएको पन्थीले बताए।
सामान्यतया टोल शुल्क निर्धारण गर्दा इन्धन खर्चमा हुने बचत, सवारीसाधनको घिसावट तथा मर्मतसम्भारमा कमी र यात्रामा लाग्ने समयको बचतलाई आधार मानिन्छ। तर नागढुंगा सुरुङमार्गको शुल्क भने मुख्यतः इन्धन बचतबाट प्राप्त हुने लाभको विश्लेषणका आधारमा निर्धारण गरिएको उनले स्पष्ट पारे।
सुरुङमार्ग प्रयोग नगर्ने सवारीसाधनलाई समेत यसको सञ्चालन खर्चको भार नपरोस् भनेर प्रयोग गर्ने सवारीसाधनबाट मात्रै शुल्क उठाउने नीति अपनाइएको छ।
हाल सवारीसाधनलाई चार समूहमा वर्गीकरण गरेर फरक–फरक दर तोकिएको छ। काठमाडौं प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसजस्ता हलुका सवारीसाधनले ६५ रुपैयाँ तिर्नुपर्छ भने फर्कँदा ६० रुपैयाँ शुल्क लाग्छ।
मिनीबस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र फर्कने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा मझौला र ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ बुझाउनुपर्छ।
त्यस्तै, मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
काठमाडौं प्रवेश गर्ने दिशामा सडकको उकालोका कारण इन्धन बढी खर्च हुने भएकाले दुवैतर्फको शुल्क फरक राखिएको पन्थीको भनाइ छ। फर्कने क्रममा तुलनात्मक रूपमा कम इन्धन लाग्ने भएकाले शुल्क पनि कम निर्धारण गरिएको हो।
मोटरसाइकललाई प्रवेश अनुमति छैन
सुरक्षालाई ध्यानमा राखेर मोटरसाइकललाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। सुरुङभित्र दुर्घटनाको जोखिम बढी हुन सक्ने र लामो दूरीको राजमार्ग यात्रामा मोटरसाइकलको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको पन्थीले बताए।
सुरुङभित्र सवारी चलाउँदा गति सीमा अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। त्यहाँ अनावश्यक रूपमा सवारी रोक्न र ओभरटेक गर्न पाइने छैन। सुरुङको डिजाइन गति प्रतिघण्टा ६० किलोमिटर भए पनि सञ्चालनका क्रममा प्रतिघण्टा ५० किलोमिटरको सीमालाई आधार मानेर सवारी चलाउनुपर्ने आयोजनाले जनाएको छ।
टोल संकलन सहज बनाउन आरएफआईडी प्रणाली
टोल शुल्क तिर्ने क्रममा सवारीसाधनको लामो लाइन नलागोस् भनेर आयोजनाले नगद, क्यूआर कोड र इलेक्ट्रोनिक टोल कलेक्सन (ईटीसी) अर्थात् आरएफआईडी प्रणाली सञ्चालनमा ल्याएको छ।
आरएफआईडीमा आबद्ध सवारीसाधनको शुल्क स्वचालित रूपमा भुक्तानी हुने भएकाले एउटा सवारीलाई करिब ८ देखि १० सेकेन्डमै पार गराउन सकिने पन्थीले जानकारी दिए।
नगद कारोबारमा रकम बुझ्ने, बाँकी पैसा फिर्ता गर्ने र रसिद दिने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले बढी समय लाग्न सक्छ। त्यसैले नियमित रूपमा राजमार्ग आवतजावत गर्ने सवारीसाधनलाई आरएफआईडी प्रणालीमा आबद्ध हुन आयोजनाले आग्रह गरेको छ।
क्यूआर भुक्तानीमा आउन सक्ने समस्यालाई समेत ध्यानमा राखेर आरएफआईडी प्रणालीलाई प्राथमिकता दिइएको पन्थीको भनाइ छ। यसको प्रयोग बढेमा टोल संकलनस्थलमा हुने जाम उल्लेख्य रूपमा घट्ने अपेक्षा आयोजनाले गरेको छ।
उकालोमा ट्रकको गतिले अन्य सवारी प्रभावित
सुरुङमार्ग प्रयोगका क्रममा टोल संकलनस्थलमा सवारीको चाप र सुरुङभित्रको उकालोमा ट्रकको गति कम हुँदा पछाडि रहेका सवारीसाधन प्रभावित हुने समस्या देखिएको छ।
ट्रकको गति कम हुँदा त्यसको पछाडि रहेका सवारीले पनि सुस्त गतिमा यात्रा गर्नुपर्ने अवस्था रहेको पन्थीले बताए। सुरुङभित्र ओभरटेक गर्न नपाइने भएकाले यस्तो समस्या थप देखिएको उनको भनाइ छ।
समस्या कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको तौल परीक्षण गर्ने र ओभरलोड पाइएमा अन्यत्रबाटै डाइभर्ट गर्ने व्यवस्था अघि बढाउने आयोजनाको तयारी छ। अत्यधिक भार बोकेका सवारी नियन्त्रण गर्न सके सुरुङभित्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय र नियमित प्रयोगकर्तालाई छुट दिने तयारी
स्थानीय बासिन्दा तथा नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्कमा सहुलियत दिने विषयमा पनि छलफल भइरहेको छ। हाल छुटको व्यवस्था नभए पनि आवश्यक नीतिगत व्यवस्था गर्न सडक बोर्ड नेपाललाई अनुरोध पठाइएको पन्थीले बताए।
सडक बोर्डले यस विषयमा अध्ययन गरिरहेको र त्यसपछि प्रस्ताव मन्त्रिपरिषद्मा पुग्न सक्ने उनले जानकारी दिए।
एम्बुलेन्सलाई भने सुरुदेखि नै टोल शुल्कमा छुट दिइएको छ। भीभीआईपी, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई पनि छुट दिने प्रस्ताव सम्बन्धित मन्त्रालयमा पेस भइसकेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ।
उद्धारका लागि २४ सै घण्टा १६ जनाको टोली
सुरुङभित्र दुर्घटना वा अन्य आकस्मिक घटना भए तत्काल उद्धार गर्न आयोजनाले छुट्टै संयन्त्र तयार पारेको छ। सुरक्षा निकाय, अस्पताल र स्थानीय तहसँग समन्वय गरेर आपत्कालीन उद्धार समिति गठन गरिएको पन्थीले बताए।
घाइते तथा बिरामीलाई उपचारका लागि लैजान सशस्त्र प्रहरी अस्पतालसँग पनि सम्झौता गरिएको छ। उद्धारका क्रममा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली, स्थानीय तहका प्रतिनिधि र अन्य सम्बन्धित निकायसँग सहकार्य गरिनेछ।
आयोजनासँग आफ्नै उद्धार टोली, दुई एम्बुलेन्स र दुई टोइङ भेहिकल छन्। आपत्कालीन व्यवस्थापनका लागि १६ जना जनशक्ति खटाइएको छ। एम्बुलेन्स चालक, प्यारामेडिक र उद्धारकर्मीसहितको टोली सुरुङमार्गका पूर्वी र पश्चिमी दुवै प्रवेशद्वारमा चौबीसै घण्टा तैनाथ रहने व्यवस्था मिलाइएको छ।
सुरुङमार्ग प्रयोगबाट इन्धन तथा समय बचत हुनुका साथै यात्रा सहज हुने भएकाले आगामी दिनमा यसको प्रयोग गर्ने सवारीसाधनको संख्या थप बढ्ने आयोजनाको अपेक्षा छ।
#NagdhungaTunnel #Kathmandu #Infrastructure #RoadSafety #DreamNewsNetwork
