कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरू भित्र्याएको अध्यक्ष कमल खड्काले बताएका छन् । ‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँ । थप तीनवटा बस आइरहेका छन् । यी बसहरूको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष कमल खड्काले बताए, ‘सुर्खेत–काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरूप कम्पनी सधैँ लागिपरेको छ ।’
उनका अनुसार गाडीमा खराबी आएमा वा अन्य कुनै समस्या देखिएमा उक्त गाडीले चालकलाई जानकारी दिने गर्दछ । गाडीमा ४५ वटा आरामदायी सिट र स्लिपर नौवटा छन् । यी गाडीहरूमध्ये चारवटा गाडी सुर्खेत बसपार्कबाट दुईवटा क्युमा छुट्नेछन् ।
कोहलपुर हुँदै बुटवल–काठमाडौं जाने रुटका लागि बसपार्कबाट साढे चार र साढे पाँच बजेका लागि बस छुट्ने समय तोकिएको छ भने बीएस ३ बसहरू सुर्खेतको मालारानी, लमही हुँदै काठमाडौं जाने रुटका लागि साढे दुई बजे गाडी छुट्ने समयतालिका बनाइएको छ ।
यसैबीच कम्पनीले सञ्चालन गर्दै आएका रुटहरूका उत्कृष्ट चालकलाई सोमबार एक कार्यक्रमबीच नगद पुरस्कार र सम्मान गरेको छ ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काको उपस्थितिमा जुम्ला, दैलेख, काठमाडौंलगायतका रुटमा गाडी चलाउने उत्कृष्ट चालकलाई जनही नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
