कार्यालयबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रेससँग विस्तृत जानकारी लिएको छ ।
आयोगको टोलीले घटनाको अध्ययन गर्दै आवश्यक परे पक्राउ प्रक्रियामा संलग्न प्रहरी तथा सरकारी अधिकारीसँग पनि सोधपुछ गर्ने जनाएको छ ।
काठमाडौं । समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले नेपाल प्रेसको कार्यालयमा पुगेर स्थलगत अनुगमन गरेको छ ।
आयोगका मानव अधिकार अधिकृत खिमानन्द बस्याल नेतृत्वको टोलीले कार्यालयमै पुगेर घटनासँग सम्बन्धित पक्षहरूसँग जानकारी लिएको हो । अनुगमनका क्रममा पक्राउ परेका पत्रकार सुवेदी, नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल, प्रधानसम्पादक मातृका पौडेल र सम्पादक चिरञ्जीवी पौडेललगायतले शुक्रबार साँझदेखि विकसित घटनाक्रमबारे आयोगलाई जानकारी गराएका थिए ।
छलफलका क्रममा प्रधानसम्पादक पौडेलले साइबर ब्युरोमा आफूहरूमाथि करिब दुई घण्टासम्म केरकार गरिएको बताए । समाचार लेख्ने व्यक्ति, त्यसको कारण र सूचनाको स्रोतबारे पटक–पटक प्रश्न गरिएको उनको भनाइ थियो ।
उनका अनुसार अनुसन्धानका क्रममा आफ्नो मोबाइल फोनसमेत करिब एक घण्टासम्म नियन्त्रणमा राखिएको थियो ।
पौडेलले पछिल्लो घटनाले नेपाली पत्रकारिता क्षेत्र असुरक्षित र दबाबमा रहेको अनुभूति गराएको बताए । उनले पत्रकारको व्यक्तिगत गोपनीयता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने गतिविधि बढ्नु चिन्ताजनक भएको उल्लेख गरे ।
कार्यालयबाटै पत्रकारलाई नियन्त्रणमा लिनुको कारण र त्यसका पछाडि रहेको निर्देशनबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो । यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन राज्यले स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमा पनि उनले जोड दिए ।
पौडेलले मानव अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
नेपाल प्रेसका प्रतिनिधिहरूसँगको छलफलपछि मानव अधिकार अधिकृत बस्यालले आयोगले घटनालाई गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए । यस विषयमा आयोगले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो ।
घटनाको थप अनुसन्धान आवश्यक देखिएमा पत्रकार पक्राउ गर्न आदेश दिने प्रहरी अधिकारी तथा सम्बन्धित सरकारी निकायका जिम्मेवार व्यक्तिहरूसँग समेत बयान लिइने बस्यालले स्पष्ट पारे ।
गत शुक्रबार साँझ प्रहरीले नेपाल प्रेसको कार्यालयबाटै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि पत्रकार पक्राउको प्रक्रिया, प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको सुरक्षाबारे प्रश्न उठ्दै आएको छ ।
