तिहारलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले फूल, माला र सजावटका सामग्री बिक्रीका लागि ३३ स्थान तोकेको छ। महानगरले प्लास्टिकका फूल तथा माला बिक्रीमा प्रतिबन्ध लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ। नियमविपरीत प्लास्टिकजन्य वा गुणस्तरहीन सामग्री बिक्री गरेको पाइए जफत गरिने महानगरको चेतावनी छ।
काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले फूल तथा माला बिक्री वितरणलाई व्यवस्थित बनाउन महानगर क्षेत्रका ३३ स्थान निर्धारण गरेको छ। महानगरले नेपाली किसानले उत्पादन गरेका फूलमालाको कारोबारलाई प्रोत्साहन गर्दै तोकिएका स्थानबाट मात्रै बिक्री गर्न व्यवसायीलाई अनुरोध गरेको हो।
महानगर प्रहरी बलले सार्वजनिक गरेको सूचनामा प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न स्पष्ट पारेको छ। स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार व्यवस्थापनलाई ध्यानमा राख्दै बिक्री स्थल तोकिएको महानगरको भनाइ छ।
महानगरका अनुसार प्रतिबन्धित प्लास्टिकजन्य सामग्री वा गुणस्तर मापदण्ड पूरा नगरेका फूलमाला तथा सजावटका सामग्री बिक्री गरेको भेटिएमा जफत गरिनेछ।
फूलमाला बिक्रीका लागि नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोडलगायतका क्षेत्र समेटिएका छन्।
त्यसैगरी हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न पाइनेछ।
महानगरपालिकाले किसान, व्यवसायी, व्यापारी र सर्वसाधारणलाई तोकिएका बिक्री स्थलको उपयोग गर्न आग्रह गरेको छ। यसबाट तिहारको समयमा फूलमालाको कारोबार व्यवस्थित हुनुका साथै नेपाली उत्पादनले बजार पाउने महानगरको अपेक्षा छ।
