‘सामाजिक सञ्जालका स्टाटस र उत्तेजक भाषणले कांग्रेसको इतिहास बनेको होइन’
काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको वैधानिकता पुष्टि गर्न सरकारको संरक्षण वा सत्तासँग निकट व्यक्तिको आवश्यकता नरहेको बताएका छन्। कांग्रेसको संगठनात्मक संरचना, निर्णय र गतिविधि पार्टी विधानअनुसार सञ्चालन हुने उनको भनाइ छ।
चालिसेले कांग्रेसको वास्तविक आधार लाखौँ सदस्यको समर्थन, सहभागिता र लोकतान्त्रिक विधिबाट भएका निर्णय रहेको उल्लेख गरेका छन्। पार्टीको विधान देशको संविधान र प्रचलित कानुनअनुसार कार्यान्वयन तथा नियमन हुने पनि उनले स्पष्ट पारेका छन्।
पार्टीभित्र मतभिन्नता र असहमति हुनु स्वाभाविक भएको भन्दै उनले त्यस्ता विषयको समाधान कांग्रेसले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट गर्न सक्ने दाबी गरेका छन्।
कांग्रेसभित्रको आन्तरिक विवादलाई देखाएर लोकतन्त्रविरोधी शक्तिले उत्सव मनाउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। उनले सत्तारूढ पक्षलाई आफ्नै कमजोरी सुधार्न सुझाव दिँदै कांग्रेसको आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाउन चेतावनी दिएका छन्।
चालिसेले कांग्रेस कुनै क्षणिक प्रतिक्रिया वा सामाजिक सञ्जालमा फैलिने उत्तेजनाबाट निर्माण भएको राजनीतिक शक्ति नभएको बताएका छन्। पार्टीको सिद्धान्त र इतिहास सामाजिक सञ्जालका स्टाटस तथा उत्तेजनात्मक भाषणबाट नभई लामो राजनीतिक संघर्ष र लोकतान्त्रिक अभ्यासबाट बनेको उनको तर्क छ।
उनले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा निर्वाचन जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उल्लेख गरेका छन्।
सरकारलाई सत्ताको शक्तिका आधारमा इतिहासलाई चुनौती दिने प्रयास नगर्न पनि उनले सचेत गराएका छन्। अहिले ओझेलमा पारिएका वा दबाइएका विषयको जवाफ दिनुपर्ने समय आउन सक्ने भन्दै चालिसेले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने बताएका छन्।
सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरजस्ता निरङ्कुश शासकहरूको पतनलाई उदाहरण दिँदै उनले सत्ता स्थायी नहुने र अहङ्कारको आयु झनै छोटो हुने सन्देश दिएका छन्।
