काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा विशेष अदालतमा पुर्याएको छ। पतञ्जलि जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा अख्तियारले मंगलबार उनीविरुद्ध थप अभियोगसहितको मुद्दा अघि बढाएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध नयाँ मुद्दा अदालतमा आएको पुष्टि गरेकी छन्। उनका अनुसार अहिले मुद्दासम्बन्धी कागजात रुजु गर्ने काम भइरहेको छ।
यसपटकको मुद्दा सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरिएको प्रकरणसँग सम्बन्धित छ। उक्त जग्गा मन्त्रिपरिषद्को निर्णयबाट बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिइएको विषयमा नेपाललाई जिम्मेवार ठहर गर्दै अख्तियारले मुद्दा अघि बढाएको हो।
प्राप्त विवरणअनुसार २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले इटहरीबाट विराटनगर जाने मुख्य सडकसँग जोडिएको कम्पनीको जग्गा बिक्री गर्न र त्यसको सट्टामा दुर्गम क्षेत्रमा रहेको जग्गा लिन अनुमति दिएको थियो।
हदबन्दीभन्दा बढी जग्गा व्यवस्थापनका नाममा गरिएको उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै अख्तियारले नेपाललाई प्रतिवादी बनाएको हो। यस मुद्दाको विस्तृत अभियोग र मागदाबीबारे भने अदालतबाट कागजात रुजु भएपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
