नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवनरक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनले रसुवा बाढीको प्रलय आएको एक साता बितिसक्दा पनि प्रभावित नागरिकको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।
उनले विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सबै ठीकै भइरहेको छ त, सभामुख महोदय? भन्दै प्रश्नसमेत गरे। उनले अझै ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै समयक्रममा यो संख्या अझै बढ्न सक्ने बताए।
नेता आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए। उनले प्रभावित नागरिकको उद्धारमा सुरुदेखि नै सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि तथा दक्ष जनशक्तिसमेत प्रयोग गर्नुपर्नेमा सरकार त्यसमा चुकेको बताए।
उनले भने, ‘बाढीको प्रलय आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त, सभामुख महोदय? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारीबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। म सभामुखमार्फत सत्तासीन सरकार र साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो प्रचार गर्ने होइन, नागरिकको प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला। अहिले सबैभन्दा खड्किएको विषय खोज तथा उद्धारको विषय रहेको छ, सभामुख महोदय। अझै पनि ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ। समयक्रममा यो अझै बढ्न सक्छ। सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो। सुरुदेखि नै सरकारी, निजी, आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिसहित उद्धारमा केन्द्रित हुनुपर्ने थियो।’
उनले विपद्को समयमा सरकारको कामकारबाहीबारे प्रश्न उठाउनु प्रतिपक्षको पूर्वाग्रह नभई खबरदारी र जिम्मेवारी भएको समेत बताए। उनले विभिन्न पाँच विषयमा सरकारको ध्यानाकर्षणसमेत गराए।
