काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद्को बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन्। दुवै दलका नेताहरूले मंगलबार सभामुखसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो राजनीतिक घटनाक्रम र जनसरोकारका विषयमा संसद्मा छलफल गर्न आवश्यक रहेको भन्दै बैठक चाँडो बोलाउन आग्रह गरेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले सभामुखको ध्यानाकर्षण गराएको हो।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले पछिल्लो समय सार्वजनिक भएका न्यायालयसम्बन्धी विवाद, पत्रकारमाथिको धरपकड, प्रहरी प्रशासनमा देखिएका समस्या तथा प्रधानमन्त्री कार्यालयसँग जोडिएका विषयमा संसद्मा गम्भीर छलफल हुनुपर्ने बताए।
संसद्बाहिरबाट आरोप–प्रत्यारोप गर्नुभन्दा जनचासोका विषयलाई संसद्मा उठाएर समाधान खोज्नु उपयुक्त हुने उनको भनाइ छ। सरकारले संसद्लाई निष्क्रिय राखेर अध्यादेशमार्फत कानुन निर्माण गर्न खोज्नु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक नभएको पनि उनले टिप्पणी गरे।
आङ्देम्बेले जाजरकोट र रुकुमका बाढीपीडितले अझै राहत तथा आवास सहायता नपाएको विषयसमेत संसद्मा उठाउनुपर्ने बताए। प्रभावित परिवारलाई घरभाडाबापत उपलब्ध गराउने भनिएको १५ हजार रुपैयाँ र परिवारका सदस्य थपिँदा थप दुई हजार रुपैयाँ दिने व्यवस्था कार्यान्वयन नभएको उनको भनाइ छ।
त्यस्तै, बढ्दो महँगी, बिचौलियाको प्रभाव र कर्मचारीमाथि भइरहेको व्यवहारलगायत विषयमा पनि संसद्मा छलफल गरेर समाधान खोज्नुपर्ने उनले बताए।
यसैगरी, एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि संसद् सञ्चालनमा ढिलाइ गर्न नहुने धारणा राखिन्। पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने र समाचारको स्रोत खोज्ने गतिविधि लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौती भएको उनले बताइन्।
अर्यालले ग्यास अभाव, महँगी नियन्त्रणमा सरकारी उदासीनता तथा सर्वसाधारणका दैनिक समस्यालाई संसद्मा प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्। सरकार, प्रशासन, न्यायालय र राजनीतिक दलहरूमा बिचौलियाको प्रभाव बढ्नुको कारण पहिचान गरी अनुसन्धान गर्नुपर्ने उनको माग छ।
सरकार आफ्नो जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतसँग जोडिएका पछिल्ला विवादमा समेत सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।
कानुन निर्माण गर्ने प्रमुख थलो संसद् नै भएकाले अध्यादेशको विकल्प रोज्नुभन्दा संसद्लाई सक्रिय बनाएर विधेयक र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने उनको जोड थियो। संसद्मार्फत सरकारलाई जवाफदेही बनाउन पनि बैठक तत्काल सञ्चालन गर्नुपर्ने उनले बताइन्।
दुवै दलका नेताहरूसँगको भेटमा सभामुख अर्यालले संसद् बैठक आह्वान गर्ने विषयमा आवश्यक परामर्श भइरहेको जानकारी दिएको नेताहरूले बताएका छन्।
यसअघि सोमबार नेपाली कांग्रेस संसदीय दलको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठकले पनि संसद्को अधिवेशन तत्काल बोलाउन माग गरेको थियो।
