भुजेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेकी थिइन्। मंगलबार उमा भुजेलले नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्न १० बुँदे सहमति गरेकी छन्। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी एकता घोषणा सभासमेत भएको छ।
एकता सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीकी महासचिव उमा भुजेल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित दुई पार्टीले एकता प्रक्रिया अघि बढाउने सहमति गरेका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिष्ट आन्दोलनको आवश्यकतालाई ध्यानमा राखी नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको सहमतिपत्रमा उल्लेख छ।
यस्ता छन् सहमतिपत्रका १० बुँदा
1. पार्टीको मार्गनिर्देशक सिद्धान्त: मार्क्सवाद–लेनिनवाद हुनेछ।
2. नेपाली क्रान्तिको कार्यक्रम: नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
3. पार्टीको तात्कालिक कार्यनीति: संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने हुनेछ।
4. आन्दोलनको स्वरूप: आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। समय र परिस्थितिअनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिनेछ। सडक, संसद् र सरकारलगायत सबै मोर्चाहरू आन्दोलनका मोर्चा हुनेछन्।
5. एकता राष्ट्रिय महाधिवेशन: आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।
6. संगठनात्मक समायोजन: केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसम्पादन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन हुनेछ।
7. एकता तथा समायोजन: सबै तहका पार्टी समिति र जनसंगठनहरूमा सहमतिका आधारमा समायोजन गरिनेछ। उक्त काम यही मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ।
8. पार्टी समितिहरूको सञ्चालन: पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुनेछ।
9. पार्टीको नाम र चुनाव चिह्न: पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ।
10. मतभेद समाधान: सिद्धान्त र विचारलगायत एकआपसमा रहन सक्ने मतभेद तथा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुगिनेछ।
