नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीबाट भएको विपद्को समयमा सरकार परिणाममुखी कामभन्दा प्रचारमा बढी केन्द्रित भएको आरोप लगाए।
प्रतिनिधिसभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भोटेकोशी र त्रिशूली नदीको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराए। उनले विपद्को यस घडीमा नेपाली काँग्रेस सरकारको साथमा रहेको स्पष्ट पारे।
नेता आङ्देम्बेले उद्धार कार्यमा सरकारको गम्भीर लापरवाही देखिएको उल्लेख गरे। विशेष गरी सुरुङभित्र फसेका नागरिकहरूको उद्धारमा भएको ढिलाइलाई उनले ‘अमानवीय’ संज्ञा दिए। सुरुङ उद्धारमा घटना भएको ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिने भए पनि सरकारले निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन ढिलाइ गर्दा थप मानवीय क्षति भएको उनको दाबी छ।
उनले मन्त्रीहरू कार्यक्षेत्रमा पुगेर काम गर्नुभन्दा पनि प्रचारमुखी तस्बिर र भिडियो खिचाउन व्यस्त रहेको भन्दै आलोचना गरे।
उनले भने, ‘सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका कमजोरीमा मौन बस्नु वा सबै खत माफ गर्नु होइन। जहाँ सरकार बाटो बिराउँछ, त्यहाँ हाम्रो खबरदारी र प्रश्न जारी रहन्छ। जसको परिवार सुरुङभित्र फसेको छ, उसलाई आफन्तको प्राणको चिन्ता छ, तर सरकारका प्रतिनिधिहरू फेसबुकमा फोटो पोस्ट गर्न व्यस्त देखिए।’
विपद् व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन नसकेको उनले बताए। स्थानीय तहलाई अधिकार र स्रोतसाधन नदिई सङ्घीय सरकारले समानान्तर संरचनामार्फत काम गर्न खोज्दा राहत र उद्धार प्रभावित भएको उनको तर्क छ।
राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय सरकारमार्फत नै पीडितको पहिचान र वितरण गरिनुपर्नेमा उनले जोड दिए। विपद् व्यवस्थापन, राहत, पुनर्निर्माण र सरकारी कामको अनुगमनका लागि उनले ‘संसदीय उच्चस्तरीय विशेष समिति’ गठन गर्न सभामुखमार्फत माग गरे।
विपद्लाई राजनीति र दोषारोपणको विषय नबनाई राष्ट्रिय एकताका साथ सामना गर्नुपर्ने उनको धारणा थियो।
