राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ। दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वसाधारणले सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी बिक्री गरिनेछ। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन्। एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्।
असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
