बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले आगमनलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने र बहुआयामिक साझेदारीलाई विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, नेपाल र भारतबीच आपसी हितका विभिन्न विषय तथा द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप फराकिलो बनाउने सम्भावनाबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेर भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्। उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवाद र प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ
