काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई व्यक्तिगत स्वार्थका कारण पदबाट हटाउनु राज्यसत्ताको दुरुपयोग भएको बताएका छन्।
सरकारले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन्।
आईजीपीबाट कुनै अपराध भएको भए प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्नुको सट्टा प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने उनको तर्क छ।
शाहीले कार्कीले कानुनविपरीत कुनै काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु अनुचित हुने बताएका छन्। उनले गल्ती गरेको भए कानुनी प्रक्रियामार्फत कारबाही गरी जेल पठाउनुपर्ने धारणा राखेका छन्।
आईजीपीबाट कुनै कानुनी त्रुटि नभएको अवस्थामा पदबाट हटाउने निर्णयले राज्यसत्ताको दुरुपयोग भएको उनको टिप्पणी छ।
