काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त डा. मनोजकुमार केसीलाई गृह मन्त्रालयले आजै नियुक्तिपत्र बुझेर पदभार ग्रहण गर्न आग्रह गरेको छ। मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गरेपछि केसीलाई गृह मन्त्रालय बोलाइएको हो।
मन्त्रालय स्रोतका अनुसार केसीलाई हस्तान्तरण गर्ने नियुक्तिपत्र तयार भइसकेको छ। उनलाई आजै दर्ज्यानी चिह्न (फुली) प्रदान गरेर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न मन्त्रालयले आग्रह गरिरहेको छ।
तर केसीले धार्मिक विधि पूरा गर्नुपर्ने भएकाले बिहीबार मात्रै औपचारिक रूपमा पदबहाली गर्ने इच्छा व्यक्त गरेका छन्। यस विषयमा गृह मन्त्रालयमा छलफल भइरहेको छ।
समाचार तयार पार्दासम्म नवनियुक्त आईजीपी केसी गृहमन्त्री सुधन गुरुङ र गृहसचिव केदारनाथ शर्मासँग मन्त्रालयमा छलफलमा थिए। केसीसँगै रहेका स्टाफ अफिसर प्रहरी निरीक्षक धर्मराज जोशीले पनि आफूहरू तयारी अवस्थामा रहेको बताएका छन्।
नयाँ प्रहरी प्रमुखले आजै पदभार ग्रहण गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयका अधिकारीहरूलाई समेत तयारी अवस्थामा राखिएको स्रोतले जनाएको छ।
मन्त्रालयले नियुक्तिपत्र बुझेर दर्ज्यानी चिह्न भने अर्को दिन ग्रहण गरे पनि केसीले प्रहरी महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्न सक्ने जनाएको छ।
