मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन समूहका सातौँ र आठौँ तहका अधिकृतलाई विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा मातहतका सरकारी कार्यालयमा जिम्मेवारी तोकेको हो ।
कार्यालयको कात्तिक १८ गतेको निर्णयअनुसार प्रदेशका विभिन्न निकायमा कार्यरत अधिकृतहरूको कार्यक्षेत्र परिवर्तन गरी नयाँ जिम्मेवारी प्रदान गरिएको छ । सरुवा तथा पदस्थापनसँगै प्रदेश सरकारका प्रशासनिक र विकाससम्बन्धी कामलाई थप व्यवस्थित बनाउने गरी कर्मचारी परिचालन गरिएको छ ।
पदस्थापन गरिएकामध्ये सबैभन्दा धेरै ७९ जना अधिकृत उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा खटिएका छन् । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासनिक समन्वय, व्यवस्थापन तथा अनुगमनको जिम्मेवारीका लागि पनि अधिकृतहरू परिचालन गरिएको छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा शान्ति सुरक्षा, कानुन निर्माण र सहकारी प्रशासनसम्बन्धी कामका लागि कर्मचारी खटाइएको छ । कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी क्षेत्रको व्यवस्थापनसँगै वन र वातावरणसम्बन्धी जिम्मेवारी सम्हाल्ने गरी पनि अधिकृतहरूको पदस्थापन गरिएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश सभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग (हेटौँडा), प्रदेश सुशासन केन्द्र (ललितपुर) र प्रदेश किताबखानालगायतका निकायमा समेत कर्मचारी पठाइएको छ ।
सरुवासम्बन्धी विवरणअनुसार सबैभन्दा कम सङ्ख्यामा भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक जना अधिकृतको पदस्थापन गरिएको छ । यसरी प्रदेश सरकारले विभिन्न मन्त्रालय र मातहतका निकायमा १४२ जना अधिकृतलाई नयाँ जिम्मेवारी दिएको हो ।
