नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद भएको छ।
मोरङको विराटनगर महानगरपालिका–१२, रोडशेषस्थित वीरेन्द्र होटल एण्ड लजबाट ब्राउनसुगरजस्तो देखिने ४८ ग्राम ५ मिलिग्राम पदार्थ र एउटा डिजिटल तराजुसहित होटल सञ्चालक निकु सिंह पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–११ निवासी ३५ वर्षीय सिंहलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले होटलमा खानतलासी गर्ने क्रममा पक्राउ गरेको हो।
त्यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, प्रगतिटोलबाट ब्राउनसुगरजस्तो देखिने ५ ग्राम ५५० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का २५ वर्षीय नितेस सुनार र वडा नम्बर ३ का २७ वर्षीय सुरेश शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बुधबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ललितपुरको गोदावरी नगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोलका ३० वटा ट्याब्लेटसहित २१ वर्षीया अनिता परियार पक्राउ परेकी छन्। गोदावरी नगरपालिका–४ निवासी उनलाई बुधबार साँझ प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–३, हात्तीमाराबाट ब्राउनसुगरजस्तो देखिने २ ग्राम ८० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय अर्जुन रोक्कासहित अर्का एक जना रहेका छन्। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले रोक्काको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ बाट ब्राउनसुगरजस्तो देखिने ११० मिलिग्राम पदार्थसहित १९ वर्षीय विजयकुमार यादव पक्राउ परेका छन्। कमला नगरपालिका–४, लग्मा निवासी यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१४, रामनगर टोलबाट ५ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित ५१ वर्षीय ललितराज कुँवर क्षेत्री पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार दिउँसो उनको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।
बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरबाट पनि ब्राउनसुगरजस्तो देखिने १६० मिलिग्राम पदार्थसहित २९ वर्षीय करण बराली पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका–६ घर भएका बरालीलाई प्रहरी चौकी महम्मदपुरबाट खटिएको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत छुट्टाछुट्टै अनुसन्धान अघि बढाइएको छ।
