नेपालको लोपोन्मुख आदिवासी समुदायका रूपमा चिनिने राउटे सदस्यहरूले आफ्नै हातले बनाएका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गरिरहेका छन्। उनीहरू गाडी चढेर पाल्पा पुगेका हुन्।
समुदायका सदस्य बन्दवीर शाहीका अनुसार पुस्तौँदेखि अपनाउँदै आएको काठका सामग्री बनाउने सीपबाट प्राप्त आम्दानीले दैनिक खर्च चलाउनुका साथै चाडपर्व मनाउने रकम जुटाउने गरिएको छ।
तिहारमा मिठोमसिनो खाने र समुदायका सदस्यसँग रमाइलो गर्ने चाहना भए पनि आर्थिक अभावका कारण समस्या हुने गरेको शाहीले बताए। त्यसैले आफूहरूले निर्माण गरेका सामग्री बिक्री गर्नुका साथै सर्वसाधारणसँग सहयोग माग्ने गरेको उनको भनाइ छ।
शाहीले भने, “तिहार आउन लाग्यो, चाडपर्वमा मिठो खानेकुरा खानुपर्छ। तर हामीसँग पर्याप्त पैसा हुँदैन। त्यसैले आफैँले बनाएका काठका सामग्री बेच्ने र सहयोग माग्ने गरेका छौँ।”
उनका अनुसार विगतमा जंगलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गर्ने गरिन्थ्यो। त्यसबाट प्राप्त आम्दानीले समुदायको दैनिक आवश्यकता पूरा हुने गरेको थियो। तर पछिल्लो समय जंगलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको उनीहरूले बताएका छन्।
“पहिले जंगलका रुख काटेर ठेकी र कोसी बनाउँथ्यौँ। ती सामग्री बिक्री गरेर आफ्नो खर्च चलाउँथ्यौँ। अहिले रुख काट्न पाइँदैन। त्यसैले आर्थिक समस्या भएपछि सहयोग माग्न हिँड्नुपर्ने अवस्था आएको छ,” शाहीले भने।
दसैँ पनि यसैगरी सामग्री बिक्री र सहयोग संकलन गरेर मनाएको उनले बताए। तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्दै मिठोमसिनो खान आवश्यक रकम जुटाउने अपेक्षासहित पाल्पा आएको उनको भनाइ छ।
तानसेन बजारमा राउटे समुदायका सदस्यले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीय बासिन्दा र बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान खिचेको छ। उनीहरूले निर्माण गरेका परम्परागत सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन्।
आधुनिक जीवनशैली र औद्योगिक उत्पादनको प्रयोग बढ्दै गए पनि राउटे समुदायले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको काठका सामग्री निर्माण गर्ने सीपलाई निरन्तरता दिइरहेको छ।
चाडपर्वको खर्च जुटाउन उनीहरू विभिन्न जिल्लामा पुग्ने, स्थानीय तह तथा सरकारी कार्यालयमा सहयोग माग्ने र आफ्ना उत्पादन बिक्री गर्ने गर्दै आएका छन्।
कुनै समय पैसालाई छुनु पाप मान्ने राउटे समुदायमा पछिल्लो समय आर्थिक कारोबारप्रतिको दृष्टिकोणसमेत परिवर्तन हुँदै गएको छ। पहिले काठका सामग्रीसँग अन्न साट्ने परम्परा रहेकोमा अहिले नगदमा बिक्री गर्नु सहज मान्न थालेका छन्। तस्बिर खिचेबापत पनि उनीहरूले रकम माग्ने गरेका छन्।
बाँदरको संख्या घट्दै जानु, सामुदायिक वनमा सहज रूपमा काठ प्राप्त गर्न नसक्नु तथा विभिन्न संघसंस्थाको बढ्दो प्रभावले राउटे समुदायको परम्परागत जीवनशैलीमा परिवर्तन आएको छ। यससँगै उनीहरूको परम्परागत जीविकोपार्जन कमजोर बन्दै गएको र आर्थिक आवश्यकताका लागि बाह्य सहयोगमा निर्भरता बढ्दै गएको देखिन्छ।
