काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिश्रीबीच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–भारतबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलगायत विपद्का बेला भारतले पहिलो उद्धारकर्ताका रूपमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका विदेश सचिव मिश्री बुधबार काठमाडौं आइपुगेका थिए । उनले भ्रमणको पहिलो दिन परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
त्यसैगरी, मिश्रीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
नेपाल भ्रमण पूरा गरी विदेश सचिव मिश्री बिहीबार नै काठमाडौं हुँदै नयाँदिल्ली फर्कने कार्यक्रम रहेको छ ।
