सन् २००० मा मुम्बईमा जन्मिएकी खुशीको पारिवारिक पृष्ठभूमि बलिउडसँग जोडिएको छ। उनकी आमा श्रीदेवी भारतीय चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री थिइन् भने पिता बोनी कपूर स्थापित फिल्म निर्माता हुन्। दिदी जाह्नवी कपूर पनि अभिनय क्षेत्रमा सक्रिय भएपछि कपूर परिवारको मनोरञ्जन क्षेत्रमा छुट्टै पहिचान बनेको छ।
फिल्मी यात्रामा अघि बढ्दै खुशी
खुशीले सन् २०२३ मा निर्देशक जोया अख्तरको नेटफ्लिक्स फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उक्त फिल्ममा उनले बेट्टी कुपरको भूमिका निर्वाह गरेकी थिइन्। सुहाना खान र अगस्त्य नन्दाजस्ता कलाकारसँग पर्दा साझा गरेकी खुशीको अभिनयले प्रशंसा र आलोचना दुवै पाएको थियो।
त्यसपछि सन् २०२५ मा उनी ‘लभयापा’ र ‘नादानियाँ’ फिल्ममा देखिइन्। ‘लभयापा’मा जुनैद खान र ‘नादानियाँ’मा इब्राहिम अली खानसँग अभिनय गरेकी उनले फरक भूमिकामार्फत आफ्नो क्षमता देखाउने प्रयास गरिन्।
उनको अभिनय यात्रा अहिले पनि अघि बढ्ने क्रममा छ। पारिवारिक विरासतभन्दा बाहिर आफ्नै अभिनय क्षमताबाट पहिचान स्थापित गर्नु उनका लागि महत्त्वपूर्ण चुनौती बनेको छ।
अभिनयसँगै सौन्दर्य व्यवसायमा पनि रुचि
खुशीको चर्चा फिल्ममा मात्रै सीमित छैन। उनको पहिरन शैली र फेसनप्रतिको रुचिले पनि युवा पुस्तामाझ आकर्षण बढाएको छ। विभिन्न सार्वजनिक कार्यक्रममा उनी आकर्षक डिजाइनर गाउनदेखि परम्परागत पहिरनसम्ममा देखिने गरेकी छन्।
विशेषगरी नेल आर्टप्रतिको उनको रुचि पनि चर्चामा छ। यही रुचिलाई व्यावसायिक स्वरूप दिँदै उनी हालै ‘नेलिनिट’ नामक प्रेस-अन नेल्स ब्रान्डमा सहसंस्थापक तथा प्रमुख सिर्जनात्मक अधिकृतका रूपमा जोडिएकी छन्।
उनको फेसन छनोटमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डको प्रभाव देखिन्छ। डिओर, च्यानल र लुइस भुइटनजस्ता ब्रान्डका सामग्री प्रयोग गर्ने खुशीका तस्बिर सामाजिक सञ्जालमा चर्चित हुने गरेका छन्। सन् २०२५ मा सार्वजनिक एक बिदाको तस्बिरमा उनी फ्लोरल पहिरन, लेडी डिओर ब्याग र च्यानलका स्यान्डलमा देखिएकी थिइन्।
फिटनेस र सौन्दर्यमा विशेष ध्यान
खुशी आफ्नो शारीरिक तन्दुरुस्तीप्रति पनि सचेत छिन्। उनी नियमित रूपमा पिलाटेस अभ्यास गर्छिन्। एक अन्तर्वार्तामा उनले आफूलाई पिलाटेस निकै मन पर्ने बताएकी थिइन्। यसबाहेक कहिलेकाहीँ तौल उठाउने अभ्याससमेत गर्ने गरेकी छन्।
छालाको हेरचाहका लागि मोइस्चराइजर, सनस्क्रिन र फेस क्लिन्जरलाई आफ्नो नियमित सौन्दर्य प्रक्रियामा समावेश गर्ने गरेको उनले बताएकी छन्।
घुमफिरमा पनि उत्तिकै रुचि
खुशीको सामाजिक सञ्जालमा विभिन्न देश तथा सहरमा बिताएका छुट्टीका तस्बिर पनि देख्न सकिन्छ। बाली, बार्सिलोना, लन्डन, इटाली र न्युयोर्कमा घुमफिर गर्दाका क्षण उनले सार्वजनिक गरेकी छन्।
उनको घुमफिर शैलीमा पनि फेसनप्रतिको लगाव झल्किन्छ। विभिन्न स्थानमा खिचिएका तस्बिरमा आकर्षक पहिरन र विलासी जीवनशैली देख्न सकिन्छ।
कति छ खुशीको सम्पत्ति ?
खुशीको व्यक्तिगत सम्पत्तिबारे पनि भारतीय सञ्चारमाध्यममा विभिन्न विवरण सार्वजनिक हुँदै आएका छन्। केही सञ्चारमाध्यमले उनको कुल सम्पत्ति करिब ७० करोड भारतीय रुपैयाँ रहेको दाबी गरेका छन्। यद्यपि, यस विवरणको आधिकारिक पुष्टि भएको छैन।
फिल्म, विज्ञापन, विभिन्न ब्रान्डसँगको सहकार्य र फेसनसम्बन्धी गतिविधि उनको आम्दानीका सम्भावित स्रोत हुन्।
उनको विलासी जीवनशैलीमा परिवारको आर्थिक पृष्ठभूमिको पनि भूमिका रहेको देखिन्छ। तर पारिवारिक सम्पत्ति र खुशीको व्यक्तिगत कमाइलाई एउटै रूपमा बुझ्नु उचित हुँदैन।
२६ वर्षमा प्रवेश गरेकी खुशीका लागि अबको मुख्य चुनौती चर्चित परिवारकी छोरी र फेसनप्रेमी अभिनेत्रीको परिचयभन्दा माथि उठेर अभिनय क्षेत्रमा आफ्नै क्षमता र पहिचान स्थापित गर्नु हो।
